• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

समृद्ध गलकोटका लागि रेडियो गलकोट

समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । “गलकोट” भन्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका १० स्थानीय तह मध्ये गलकोट नगरपालिकाका ११ वटा वडा र ताराखोला गाउँपालिकाका ५ वटा वडा रहेको भौगोलिक क्षेत्रलाई बुझिन्छ । यो  प्राकृतिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक पहिचान भएको स्रोत र संभावना भएको भौगोलिक क्षेत्र हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक  नतिजा अनुसार गलकोट नगरपालिकामा ७३१४ घर संख्यामा ३०,५०३  र ताराखोला गाउँ पालिकामा २५०२ घर संख्यामा १०,१६७ गरी गलकोट क्षेत्रको कूल ४०,६७० जनसंख्या रहेको छ ।

गलकोट नगरपालिका १९४.३४ वर्ग कि.मि. र ताराखोला गाउँपालिका १२९.५२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । निश्चित भौगोलिक क्षेत्रको समुुदायले अपनत्व महसुश हुुने गरी स्थापना गरिएको रेडियोलाई सामुदायिक रेडियो भनिन्छ । समुदायको रुचि र सरोकारका विषयवस्तुु आफ्नै आवाजमा प्रशारण हुुने भएकोले पछिल्लो दिनमा सामुदायिक रेडियोप्रति आस्था र विश्वास बढदै गएको छ । एक्काइसौँ शताब्दी सूचना र प्रविधिको युग भएकाले व्यापक भूमण्डलीकरण, ज्ञान विज्ञान, सञ्चार, यातायाात, जीवनप्रतिको सोच जस्ता विषयमा धेरै परिवर्तन आएको छ । विज्ञान प्रविधिमा नयाँनयाँ आविष्कार भएका छन् । एक्काइसौँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा सञ्चार माध्यमहरु पनि गुणात्मक रुपमा बृद्धि भएका छन् । बागलुङ जिल्लाको मध्य क्षेत्र गलकोटलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसँग साक्षात्कार गराउदै समृद्ध बनाउन सामुदायिक रेडियो गलकोट स्थापना कालदेखि गौरवमय १३ वर्ष पार गथर्न सफल भएको छ ।

सामुदायिक रेडियो गलकोट एक परिचय
    नेपालमा सामुदायिक रेडियो इतिहासलाई हेर्दा वि. सं. २०५४ मा काठमाडौं उपत्यकामा रेडियो सगरमाथाको स्थापना भएको हो । जुन रेडियोलाई दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो मानिन्छ । झण्डै ३ दशकको इतिहासमा नेपालमा ३०० बढी सामुदायिक रेडियो स्थापना भएका छन । सूचना र संचारका माध्यमबाट समृद्ध गलकोट बनाउने उद्देश्यले वि.सं. २०६६मा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लि. स्थापना भयो जसले वि.सं.२०६७ फागुन २ देखि ‘स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर’ भन्ने मान्यताका साथ  मुद्रण पत्रकारिताको रुपमा  गलकोटपत्र साप्ताहिक  प्रकाशन गर्दै आइरहेको छ ।

विद्युतीय सञ्चार माध्यमका रुपमा वि.सं.२०६८ साउन १४ देखि प्रशारण हुदै आएको १०० वाट क्षमताको सामुदायिक रेडियो गलकोट एफ.एम. १०२.४ मेगाहर्ज गलकोट र यसका आसपासका क्षेत्रलाई सुसुचित गर्ने सशक्त सञ्चार माध्यमका रुपमा स्थापित भएकोे छ । बदलिदो परिवेश र सेवा विस्तारका लागि वि.सं. २०७४-१२-१५ देखि क्षमता विस्तार गरि  ५०० वाटको प्रशारण क्षमता रहेको छ  । क्षमता विस्तारका लागि रेडियो गलकोटका संरक्षक गलकोट नगरपालिका वडा नं. ६ चरौदी घर भई हाल अमेरिकामा कार्यरत आदरणीय डा. हेमराज रेग्मीको योगदान अविस्मरणीय रहेको छ ।रडियो लाई तारखोला गाउँपालिकामा विस्तार गर्नका लागि  ताराखोला गाउँपालिका वडा नं. २ अर्गलको बहुउद्देश्यीय भवनमा वि.सं. २०७८ बैशाख ११ गते रिले टावर स्थापना गरी सेवा प्रवाह गरेको छ ।सामुदायिक रेडियो गलकोटका लागि समृद्ध गलकोट समूहबाट रु १०,००,०००।– को रेडियो कोषको स्थापना भएको छ  । भौगोलिक जटिलता र कठिन प्रविधि अवलम्बन लगायतका चुनौतिको सामाना गर्दै सामुदायिक रेडियो गलकोट सफलताका तेह्रौं वसन्त पारगरी चौँधौ वर्षमा पाइला टेक्नु हामी सबैको गौरवको विषय हो ।
    बागलुङ जिल्लाको दोस्रो सामुदायिक रेडियो गलकोट एफ.एम.को नेपाल सरकारका तत्कालिन प्रधान मन्त्री झलनाथ खनालबाट समुदघाटन गर्ने कार्यक्रम रहे पनि मौसम प्रतिकुलताका कारण   झलनाथ खनाल उपस्थित हुन नसके पछि बागलुङ जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाज्यूबाट उद्घाटन भएको थियो ।
    ज्ञान, सूचना र मनोरञ्जनका कार्यक्रम समायोजन गरी दैनिक विहान ५ः३० देखि राति १० बजेसम्म १६ घण्टा ३० मिनेट नियमित प्रशारण भइरहेको सामुदायिक रेडियो गलकोटमा स्थानीय उत्पादनका सामग्रीका साथै सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) द्वारा प्रशारित सामुदायिक सूचना नेटवर्क (CIN) र उज्यालो नाइन्टी नेटवर्कसँग सहकार्य गरी समुदायलाई सुसुचित गर्दै आएको छ । www.galkotfm.com मा विश्वभर एकैसाथ सुन्न सकिन्छ । हाल गलकोट एफ.एम.को मोवाइल एप समेत सञ्चालनमा आएको छ । सामुदायिक रेडियो गलकोटले गलकोट नगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । रेडियोले आधारभूत पत्रकारिता, रेडियो उद्घोषण तथा प्राविधिक तालिम सञ्चालन गरि रेडियोलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्दै आएको छ ।सामुदायिक रेडियो गलकोटमा स्थानीय उत्पादनका  प्रशारण गर्ने  कार्यक्रमहरु यस प्रकार रहेका छन्ः
 -गलकोट प्रभात (कार्यक्रम रुपरेखा, दिनभरिमा आज, जनचासो, राशिफल र जन्म दिनको शुभकामना)
-गलकोट खवर ( दैनिक ४ बुलेटिन) 
-हेलो गलकोट (दैनिक)
-गलकोट क्विज (साप्ताहिक)
-चलचित्र लहर (साप्ताहिक)
-खेलौं दोहोरी (साप्ताहिक)
-कोपिला, बाल कार्यक्रम (साप्ताहिक)
-शैक्षिक दर्पण (साप्ताहिक)
-कृषि कार्यक्रम(साप्ताहिक)
-आधा आकाश (साप्ताहिक)
-गलकोट परिचय, पर्यटन (साप्ताहिक)
-सहचार्य , सहकारी (साप्ताहिक)
-नव जीवन, स्वास्थ्य (साप्ताहिक)
-परिवर्तनका आवाज (साप्ताहिक)
-रेडियो चौतारी (साप्ताहिक)
-साहित्य मझेरी (साप्ताहिक)
-बुढापाकाका कुरा (साप्ताहिक)
-सिर्जनाका फुल (साप्ताहिक)
-युवा सन्देश (साप्ताहिक)
 
स्थानीय तहको सवलीकरणमा सामुदायिक रेडियोकोे भूमिका
    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले नेपाललाई ७ प्रदेश र ७ सय ५३स्थानीय तहको व्यवस्था गरेको छ । संविधानले सूचनाको हकलाई ग्यारेन्टी गरेको छ । प्रत्येयक स्थानीय तहमा एफ.एम. रेडियो को स्थापनालाई जोड दिएको हुदा स्थानीय तहको सवलीकरणमा सामुदायिक रेडियोकोे भूमिका महत्वपूर्ण रहेको छ । जुन यस प्रकार रहेका छनः  
-सामुदायिक रेडियाले सरकारी, गैर सरकारी, सहकारी, बैकिंङ (वित्तीय) तथा राजनैतिक कार्यक्रम तथा गतिविधि बारे ग्रामीण क्षेत्रका जनताले तल्काल सुन्ने र यसवारे धारणा गराउन पाएका छन् । 
-समाजमा हुने सकारात्मक र नकारात्मक विषयवस्तुको उठान गरी राम्रो काम गर्नेलाई हौसला दिने र नराम्रो काम गर्नेलाई निरुत्साहित गर्ने अवस्था सिर्जना गरेको छ ।
-जनतालाई सेवा सुविधा दिने  कार्यालय संघ संस्थाहरुमा कमजोरी भयो भने संचार माध्यममा पुग्छ भनेर सर्तक गराउने काम भएको छ ।
-ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभाहरुलाई आम रुपमा पहिचान गराउन अवसर प्रदान गरेको छ । 
-सामुदायिक रेडियो ग्रामीण जनताको चेतना अभिवृद्धिमा प्रभावकारी साधन बनेको छ ।
-दक्ष प्राविधिक तथा संचारकर्मीको उत्पादन तथा विस्तार भएको छ ।
-स्थानीय तहका ऐतिहासिक,सामाजिक, साँस्कृतिक, कृषि, पर्यटन, धर्म, शिक्षा, यातयात, जलस्रोत, स्वास्थ्य, साहित्य तथा अन्य सरोकारका विषयमा सूचनामूलक,जानकारीमूलक एव खोजमूलक सामग्री प्रशारणद्वारा उजागर र प्रवद्र्धन गरेको छ ।
-देश विदेशका समाचारबारे जानकारी पाउनका लागि राजधानी र जिल्लाबाट प्रकाशन तथा प्रशारणहुने संचार माध्यमको भर पर्नुपर्ने र त्यसमा पनि स्थानीय समाचारले प्राथमिकता नपाउने अवस्थालाई सामुदायिक रेडियोले हटाइ दिएको छ ।
-स्थानीय तहको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनमा पारदर्शी र प्रभावकारी बनाउन मद्दत गरेको छ ।
-रुढीवादी कुसंस्कार, अन्धविश्वासका विरुद्ध सचेतना फैलाएर सभ्य समाज निर्माणमा टेवा पुर्याएको छ ।
-बालबालिका , युवा, प्रौढ सबैलाई मनोरञ्जन दिने र मौलिक कला संस्कृतिको प्रबद्र्धन गरेको छ । 
-गलकोट नगरपालिकाको समृद्धिको यात्रामा हातेमालो गरेको छ ।
-गलकोट क्षेत्रका राजनैतिक दल, सरकारी कार्यालय, गैर सरकारी संघ संस्था र समाजका अगुवाहरुले सामुदायिक रेडियोको सेवा उपभोग गर्दै रेडियोलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग र विश्वासनीयता प्राप्त भएको छ  ।

सामुुदायिक रेडियोका चुनौति
    हरेक महान संभावनाका अगाडि गंभिर चुनौतिहरु रहेका हुन्छन् गलकोट क्षेत्रको समृद्धिका लागि विगत १४ वर्षदेखि  आफ्नो उद्देश्यमा अविचलित सामुदायिक रेडियो गलकोटले केही चुनौती सामना गर्नु परेको छ ।
-भौगोलिक विविधता तथा विकटताका कारण गलकोट नगरपालिकाका १० र ११ वडामापूर्ण रुपमा रेडियोकोे प्रशारणको पहुँच पुग्न सकेको छैन ।
-सामुदायिक रेडियो आवश्यकता, सुदृढीकरण, विस्तार र स्तरोन्नति गर्न गलकोट नगरपालिका बाहेक ताराखोला गाउँपालिकाबाट पर्याप्त दायित्व बोध हुन नसक्नु ।
-संचार माध्यममा लगानी गर्दा तल्काल लगानी अनुसारको आर्थिक प्रतिफल पाउन नसकिने धारणाले लगानीकर्तालाई प्रभाव पारेको छ ।
-ग्रामीण क्षेत्रमा कुशल र दक्ष जनशक्तिको अभाव र उत्पादन भएका जनशक्ति पनि सेवा सुविधाको कारण टिकाउन समस्या रहेको छ ।
-आवश्यक प्रविधि समयमा भित्राउन तथा मर्मत सम्भारको लागि समय लाग्ने गरेको छ ।
-इन्टरनेट, विद्युत, प्रविधि तथा यातयातको झमेला खेप्नु परेको छ ।
-ग्रामीण क्षेत्रका संचार माध्यमका लागि प्रवद्र्धनका लागि राज्यको स्पष्ट नीति नभएको ।
-सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रभावकारी हुन नसकेको।
-गलकोट एफ एमलाई पूर्णरुपमा डिजिटलाइसन हुन नसकेको ।

सामुदायिक रेडियोको दिगो व्यवस्थापन
    सामुदायिक रेडियो समुदायको सम्पत्ति हो । जवसम्म समुदायले सामुदायिक रेडियो मेरो हो, यसको संरक्षण र सम्बर्धन गर्ने दायित्व मेरो हो भनने महशुस हुदैन अर्थात अपनत्वको बोध हुदैन यसमा चुनौतिहरु रहि रहन्छन ।सामुदायिक रेडियो गलकोटको दिगो व्यवस्थापनका लागि तत्काल गनुपर्ने कार्यहरु यस प्रकार रहेका छन 
-सामुदायिक रेडियोको दीगो व्यवस्थापनका लागि भावी रणनीति र दीर्घकालिन योजनाको गृहकार्य भइ रहेको छ ।
-सामुदायिक रेडियोको सुदृढीकरण, विस्तार र स्तरोन्नति गर्न स्थानीय तहले प्रबद्र्धन गर्नु पर्दछ ।  ।
-सामुदायिक रेडियो मेरो हो, यो समाज विकासको महत्वपूर्ण अंग हो भन्ने मान्यता र जिम्मेवारी बोध गर्ने वातावरण सिर्जना गर्ने काम स्थानीय तहका जनप्रतिनिधिको भएकोले स्थानीय तहका सबै जनप्रतिनिधिले अपनत्व ग्रहण गर्न स्थानीय जनप्रतिनिधिहरुले सामुुदायिक रेडियोको रेडियो सदस्य बन्नु पर्दछ ।
-गलकोट नगरपालिका क्षेत्रका सबै वडाका भूभाग तथा ताराखोला गाउपालिकाका सबै वडामा रेडियोको पहूच बृद्धि र  क्षमताको स्तरोन्नति गर्नु पर्दछ ।
-स्थानीय तहका सबै वडाहरुमा गाउँ सञ्चार समन्वय समिति गठन/पुनर्गठन गरी प्रत्येक कार्यालयमा सूूचना अधिकारीको व्यवस्था गरी समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दछ ।
-समुदाय केन्द्रीत स्थानीय कार्यक्रमको उत्पादन र निरन्तरता दिनुपर्दछ ।
-गलकोट नगरपालिकाको निति,कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि प्रत्येक वडा र विषयगत विषयमा सार्वजनिक सुनुवाई सञ्चालन गर्ने जिम्मेवारी सामुदायिक रेडियोले बहन गर्ने वातावरण बनाइनु पर्दछ ।
-सांसद विकास कोष, क्षेत्र विकास कोष तथा राज्यका अन्य निकायबाट सामुदायिक रेडियोको सम्वर्धनका लागि सम्बोधन हुनुपर्दछ ।
-विभिन्न देशमा स्थापित गलकोट समाज , गैरआवसीय नपाली संघ तथा दातृ निकायहरुले सामुदायिक रेडियोको सुदृढीकरण, विस्तार र स्तरोन्नति गर्ने अभियानमा सहकार्य गर्नुपर्दछ ।
-६/६ महिनामा पत्रकारिता, रेडियो उद्घोषण तथा प्राविधिक तालिम तथा क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम सञ्चालन गर्नुपर्दछ ।
-आन्तरिक व्यवस्थापन, राष्ट्रिय स्तरमा समेत बजारीकरण र चुस्त प्रविधिको संयोजन गर्नुपर्छ ।
-सामुदायिक रेडियो गलकोटको आफ्नै भवन बनाउनको लागि पूर्वाधार तयार गर्नु पर्दछ ।

निष्कर्ष
    एक्काइसौँ शताब्दी सूचना र प्रविधिको युग हो । जहाँ सूचना र प्रविधिको अधिकतम उपयोग हुन्छ त्यो क्षेत्र विकासको गति संगै अघि बढछ । गलकोट क्षेत्रलाइ समृद्ध गराउनका लागि विकासका पूर्वाधारलाई सबैको पहूचमा पुर्याउनु पर्दछ । यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचय गराउन जनतालाई सुसुचित गर्न, प्रचार प्रसार गर्न,ज्ञान विज्ञान र प्रविधिसंग साक्षात्कार गराउनु पर्दछ । समाज रुपान्तरण गरी समृद्ध गलकोट बनाउनका लागि सञ्चार माध्यमको अहम् भूमिका रहने भएकाले स्थानीय तहले विकासका लागि सञ्चारसँगको सहकार्यलाई प्राथमिकता दिइनु पर्दछ। बागलुङ जिल्लाको ऐतिहासिक क्षेत्र गलकोट र यसको आसपासमा रहेको क्षेत्रमा संचारको माध्यमबाट सुसूचित गराउनको लागि सामुदायिक रेडियो गलकोट एफ.एम.१०२ थोप्लो ४ मेघाहर्जको उल्लेख्य भूमिका रहेको छ ।  त्यसैले यसको संवद्र्धन, व्यवस्थापन गर्ने दायित्व समुदायको भएकोले तत्काल यसको सेवाबृद्धि, विस्तार,प्रभावकारी व्यवस्थापन र दिगोपनाको लागि हामी सबैको ध्यान जानु जरुरी छ । यसको प्रबद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस

शैक्षिक ज्ञान महायज्ञः इतिहासले सुम्पिएको जिम्मेवारी

गण्डकी प्रदेश, बागलुङ जिल्लाको मध्य पश्चिम गलकोट क्षेत्र र यसको आसपासको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पस वि.सं. २०६१ मा स्थापना भएको सामुदायिक

गलकोट बहुमुखी क्याम्पस र शैक्षिक ज्ञान महायज्ञ

                                                                                                       

‘गलकोटका थकाली जातिको मौलिक संस्कार’

गण्डकी प्रदेश, बागलुङ जिल्लाको गलकोट नगरपालिका सांस्कृतिक, सामाजिक, जातीय तथा धार्मिक विविधता भएको पालिका हो । यहाँ विभिन्न जातजाति सम्प्रदायको