• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

‘गलकोटका थकाली जातिको मौलिक संस्कार’

संक्षिप्त परिचय

गण्डकी प्रदेश, बागलुङ जिल्लाको गलकोट नगरपालिका सांस्कृतिक, सामाजिक, जातीय तथा धार्मिक विविधता भएको पालिका हो । यहाँ विभिन्न जातजाति सम्प्रदायको आफ्नै मौलिक कला संस्कृति रहेको छ । गलकोटमा परापूर्वकालदेखि बसोबास गर्दै आएको थकाली जाति आर्थिक तथा सांस्कृतिक दृष्टिले सम्पन्न जाति हो ।

धौलागिरि र नीलगिरि उच्च हिमालहरुको बिचमा रहेको थासाङ (थाक सात सय) बाट देशका विभिन्न भागमा फैलिएको  थकाली जाति आफ्नो भाषा, भेषभूषा, रीतिस्थिति संस्कार भएको जनजाति हो ।

नेपाल सरकारद्वारा सूचिकृत गरेको  ५९ जनजाति मध्ये थकाली जाति जनसङ्ख्याको दृष्टिले अल्पसङ्ख्यामा रहेको छ । गलकोट नगरपालिकाको वडा नं. ५ को हरिचौर बजार,ठाडो ओढार, वडा नं. ८ को काडेबास बजार – थालेपोखरा, वडा नं. १० को पाण्डवखानी, रमुवा र वडा नं. ११ को रिघामा गरी चार वटा वडामा १९ घरपरिवार स्थायी बसोबास गर्दै आएका छन ।
कृषि तथा व्यापार पेशामा आबद्ध थकाली जातिका गौचन, शेरचन, तुलाचन र भट्टचन ४ वटै थरको गलकोटमा बसोवास रहेको छ । यहाँका थकाली जाति बोद्धधर्मालम्बी हुन । कुनै पनि समाजको आफ्नै धार्मिक, सामाजिक मूल्य मान्यता र विधि विधानहरू हुन्छन् ।

तिनै मूल्य मान्यता र विधि विधान अनुसार समाजमा चल्दै आइरहेको पद्धतिलाई संस्कार भनिन्छ । मिश्रित समुदायमा स्थानीय अन्य जाति समुदायको संस्कारबाट एक अर्कामा प्रभावित हुने भएकोले परिष्कृत पनि हुने गर्दछन  । गलकोटमा रहेका स्थानीय थकाली जातिका प्रमुख संस्कारहरू निम्न बमोजिम छन् ।

१. जन्म
थकाली जातिमा नवजात बच्चा जन्मनासाथ  आफ्नो क्हयू (कुल) भित्रका दाजुभाइलाई बच्चा जन्मेको खबर सुनाउनु पर्दछ । बच्चाको न्वारान नगर्दासम्म क्हयूभित्रका दाजुभाइले कुनै शुभकार्य र दैनिक पूजा आजाका कार्यक्रम नगर्ने मान्यता रहेको छ । नवजात शिबुको जन्मभए पछि हर्ष बढाँइ गर्ने गरिन्छ । बच्चाको मुख हेरी नगद तथा अन्य उपहार दिने चलन रहेको छ ।

२. न्वारान
न्वारान बच्चाको नामकरण गर्ने संस्कार हो । नेपालका सबै जनजातिले आ–आफ्नै धर्म–परम्परा अनुरूप नवजात शिशुको न्वारान गर्ने गर्दछन् । थकालीहरूले बच्चा जन्मेको तेस्रों दिनमा आमा र बच्चालाई शुद्धीकरण गर्दछन् । गलकोटका थकालीहरुले छोरीको ९ र छोराको ११ दिनमा लामा ट्होम (झाक्री) परम्परा अनुसार न्वारान गर्ने गर्दछन् । न्वारान गर्नुको मुख्य उद्देश्य सुत्केरी च्योख्याउने र बच्चाको नाम राख्नु हो ।

न्वारान पछि कुल भित्रका दाजुभाइहरूले विवाह, छेवर, चाडवाड, पूजाआजा गर्न पाउँदछन् । लामा विधिमा न्वारानका दिन आमा र बच्चालाई नुहाई नयाँ कपडा लगाई दिइन्छ । लामाले आफ्नो विधिबाट पाठ गरी जल, गहुँत, सुनपानी सहित धूपीको फूलले घर, कोठा र वरिपरि, नयाँ बच्चा आमा र परिवारका अन्य सदस्यहरूलाई छर्केर शुद्ध गरिन्छ । बच्चा जन्मेको समय, पल, घडीका आधारमा लामाले वा मूल ज्वाइँले बच्चाको नाम राख्दछ । यही नामका आधारमा बच्चाको भाग्य हेरिने चलन छ ।

लामाले शुद्ध गरेको धागो बच्चाको नाडीमा बाँधि दिन्छन् । यसले बच्चालाई भूत–प्रेतबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । झाँक्री विधिबाट गर्दा झाँक्रीले मन्त्र वाचन गर्दछन । बच्चा जन्मेको साल गते, दिन, बार, घडी र पलका आधारमा बच्चाको नाम रखिन्छ । न्वारनमा आफन्त र कुल भित्रका दाजुभाइ तथा चलीवेटीहरुलाईलाई निम्ता गरी खानपिन गराइन्छ । 

३. अन्नप्रासन
अन्नप्रासन भनेको बच्चालाई भात खुवाउन सुरूवात गर्ने संस्कार हो । यस संस्कारलाई भात खुवाइ पनि भनिन्छ । भात खुवाइ गर्दा बच्चा जन्मेको ५ वा ६ महिना पुगेपछि गर्ने चलन छ । बच्चालाई नुहाई नयाँ कपडा, हातमा सुन वा चाँदीको बाला, खुट्टामा चाँदीको कल्ली, कानमा सुनको मुन्द्रा लगाई शुभसाइत हेरि फुपूद्वारा दूधभात तथा अन्य विभिन्न परिकार चम्चाले खुवाइन्छ ।

त्यसपछि क्रमशः परिवारका अन्य सदस्य र आफन्तले जेष्ठताका आधारमा टीका लगाई दक्षिणा एवं उपहार दिने र भात खुवाउने गरिन्छ । आफन्तहरूलाई निमन्त्रणा गरी भोज गरिन्छ  ।अन्नप्रासनमा  मामाहरूले सुनको मुन्द्रा लगाइ दिने चलन पनि छ । 

४. छेवर
यो थकाली जातिहरूको महत्वपूर्ण संस्कार हो । यो संस्कार राम्रो साइतको अवसरमा पारी बिजोर अंक पाँचौँ, सातौँ, नवौँ, एघारौँ वर्ष पुगेको कुमार केटोलाई कपाल मुण्डन गरी यो कार्य गरिन्छ । यो संस्कारको विधिमा विशेष मामाको महत्वपूर्ण भूमिका रहन्छ ।

लामा, तथा टोहमबाट साइत जुराई यो कार्यको सुरूवात गरिन्छ । घर–परिवारका सदस्य, आफन्त, नातेदारहरूलाई निमन्त्रणा गरिन्छ । बिहान शुभसाइतमा बच्चालाई नुहाई सरसफाइ गरिन्छ । बच्चालाई मामाले बोकेर वा समातेर आफन्त नातेदारसँग गाईगोठमा वा मन्दिरमा लगी मुखमा धुपी वा दुवो च्यापी घाँटीमा दाम्लाले बाँधी चार हात खुट्टा घोप्टो बनाई टुप्पीमा सुनको बेरूवा औँठी राखेर मामाले बच्चाको कपाल काट्छन् ।

कपाल काट्ने बेलामा फुपू वा दिदीले थालमा कपाल थाप्ने चलन छ । कपाल थापे वापत फुपू वा दिदीलाई दक्षिणा दिने गरिन्छ । कपाल काटिसकेपछि बच्चालाई सेतो दौरा–सुरूवाल, सुईटर, जुत्ता मोजा र टोपी लगाई दिएपछि घरभित्र प्रवेश गर्ने बेलाको साइतलाई बीचमा गरेर बच्चालाई मामाले काँधमा राखी तीन वा पाँच कन्या केटा वा केटीले करूवामा जल, फूल राखी तामाको छाप्रीमा फलफूल, रोटी, झिनिया बोकी दमाई बाजा बजाई आफन्त सहित गृह प्रवेश गर्दछन् ।

घरको मूल ढोकामा बच्चाको दिदीबहिनी, फुपूहरूले केल्साङ (सम्मान) गर्दछन् । थालमाथि चाँदीको तीनवटा कचौरामा तीन ठाउँमा हेर (नौनी घिउ)  लगाई एउटा कचौरामा दूध, एउटा कचौरामा जाँड र एउटा कचौरामा रक्सी वा दही राखी बच्चालाई सगुनको रूपमा थोरै सेवन गराइन्छ र फलफूल पनि सगुनका रूपमा हातमा दिइन्छ । 

बच्चा घरको मूल पूजा गर्ने कोठामा  पितृलाई सम्झी वत्ती बालिन्छ । बच्चालाई सजाइएको कोठामा राखिन्छ । सर्वप्रथम बच्चाको घरको आँखेमोम  (बाजेबज्यै) बाट मलमलको सेतो फेटा र सेतो अक्षताको टीका लगाई आशीर्वादसहित नगद दक्षिणा दिने गरिन्छ । बच्चाको आमा बाबुले क्रमिक रूपले फेटा र टीका लगाई दिई आशीर्वाद र दक्षिणा दिने चलन छ । एउटै घरपरिवारका सदस्यहरूले बच्चालाई जेष्ठताका आधारमा टीका, फेटा र खादा लगाई आशीर्वाद र दक्षिणा दिइन्छ ।

क्रमैसँग मुल घर, दाजुभाई, माइती आँखेमोम तथा  मामा–माइजू र अन्य नजिकका नातेदार र अन्य जातिका साथीभाइहरूले टीका, खादा, फूलको गुच्छा उपहार र दक्षिणा दिने चलन छ । यो कार्यमा निमन्त्रणा गरिएका सम्पूर्ण आफन्त नातेदारहरूलाई सर्वप्रथम साइतको सगुनका रूपमा चिया, रक्सी, सेलरोटी, मासु, खसीको भुटुवा, जम्बु राखेको आलु र सिमी तरकारी आदि विभिन्न परिकारबाट खाना सुरू गरिन्छ । यो कार्यमा छोरीज्वाइँको माइतीहरूको विशेष भूमिका रहन्छ । माइतीको शुभ कार्यका लागि नाचगान गर्ने गरिन्छ र केल्साँङ (सम्मान)  पनि गर्ने गरिन्छ । 

५. गुन्युचोलो (न्होन्कोनचोलो)
यो सँस्कारलाई थकाली भाषामा न्होन्कोनचोलो भनिन्छ । छोरीलाई पूजा गरी मनाइने संस्कार हो यो । यो संस्कार थकाली जातिमा छोरीको उमेर सात, नौ, एघार वर्ष पुगेपछि छोरीलाई नयाँ कपडा न्होन्कोनचोलो र गरगहनाले सिँगारी बैठक कोठामा बसाई, बाबुआमा, ओखेमोम र अन्य नातेदारबाट टीका, फूलको माला, खादा र पछ्यौरा लगाई आशीर्वादका साथ दक्षिणा र केही उपहार दिने गरिन्छ ।

यो संस्कार छोराको छेवरसँग जोडिएको हुन्छ । यो संस्कारमा छोरी चेलीबेटीको तर्फबाट बाबु आमालाई केल्साङ गरेर सम्मान गरिन्छ र उनीहरूले दक्षिणा दिने गर्दछन् । यद्यपि हाल गलकोटका थकाली जातिमा  यो संस्कार हाल प्रचलनमा रहेको छैन ।

६. विवाह
विवाह सामाजिक संस्था र संस्कार दुवै हो । थकालीहरूको विवाहको आफ्नै मौलिक परम्परा  छ । उनीहरूमा मामाचेली फुपूचेला विवाह प्रचलन छ । जुन प्रथा वर्तमान समयमा कम हुँदै आएको छ । थकालीहरूमा मागी विवाह, भागी विवाह र प्रेम विवाह प्रचलनमा आएको पाइन्छ ।

जुनसुकै प्रकारको विवाह गरेको भए पनि केटा वा केटी पक्षका आमा बाबुले स्वीकार नगरेसम्म सामाजिक रूपमा त्यो विवाहले मान्यता पाउँदैन । किनभने थकालीको विवाहले मान्यता पाउन खिमी बसाल्ने, स्वयम्बर र कहर सजीको कार्य सम्पन्न गर्नु पर्दछ ।

क. खिमी बसाल्ने
खिमी बसाल्ने भनेको गोत्र परिवर्तन गर्ने विधि  हो । यसका साथै यो विवाह पक्का गर्ने विधि पनि हो । यो कार्य सम्पन्न गर्दा केटा पक्षबाट मुल ज्वाइँको अगुवाइमा अन्य ज्वाइँ र नजिकका दाजुभाइहरू, ढोग गर्ने कुमार केटा सहित रक्सी, जाँड, नेत क्हरमा, खाँडलो, जन्तर, सुराइ (फुम), चाँदीको ठेकी (परु)  लिएर केटी पक्षको घरमा आउँछन् । केटी पक्ष तर्फ गोत्र भित्रका दाजुभाइहरू र चेलीबेटी, केटीको मामा, थकाली सेवा समिति गलकोटका क्षत्रीय अध्यक्ष,दाजुभाइको मुली, घरको मुलीको उपस्थिति हुन्छ ।

केटी पक्षको कन्या केटाले पितृपूजा गर्दछन् । केटा र केटी पक्षकाहरू आमुन्ने सामुन्ने बसेर केटा पक्षले ल्याएको रक्सी र जाँड केटी पक्षलाई दिन्छन् । यदि केटी पक्षका दाजुभाइहरूले उनीहरूले दिएको रक्सी र जाँड पितृलाई सम्झेर छे छे गरी खाए भने त्यो गोत्र परिवर्तन र विवाह पक्का भएको ठानिन्छ । खिमी बसालेको दिन केटा पक्ष र केटी पक्षबीच विवाहको तयारीबारे सल्लाह पनि हुन्छ । खिमी बसेपछि केटा र केटी पक्षको अनुकूलतामा विवाह हुन्छ ।

विवाह, ठूलो, सानो, सुटुक्क जसरी गरे पनि सामाजिक मान्यता पाउँछ । खिमी बसालेपछि केटीले बुहारीको र केटाले ज्वाइँको भूमिका निर्वाह गर्न पाउँछन् । थकालीको विवाहमा खिमी बसाल्ने एक महत्वपूर्ण वैवाहिक कार्य हो । यो विधिविना विवाहले पूर्णता पाउँदैन । 

उक्त अवसरमा थकाली सेवा समिति गलकोटका अध्यक्षले दुलहा र दुलहीको तीनपुस्त खुलाएर क्यूह परिवर्तन भएको प्रमाण पत्र दिन्छन । फोटो राखी दुलहा दुलहीको हस्ताक्षर बनाएर १ प्रति केटा पक्षले, एक प्रति केटी पक्षलाई र १ प्रति क्षत्रीय समितिमा राखिन्छ । साक्षीको रुपमा केटा पक्षको ज्वाइँ, केटी पक्षका मामा  र केटी पक्षका दाजुभाइ रहन्छन

ख.स्वयम्वर र गृह प्रवेश
दुलहीको निमित्त चाहिने सम्पूर्ण गहना र शृङ्गारका सामान र आफ्नै भेष न्होकोन, चोलाको सेट समेत राखी महिलाको एक समूह तैयारीका लागि दुलहीको घर जान्छन । दुलहालाई लबेदा सुरवाल, कोट  साथै शिरमा किमति कपडाको हरियो सफा फेटा गुथी  तैयारीमा हुन्छन । शुभ साइतमा जन्ति प्रस्थान हुनु अघि घरबाट केल्साङ सगुन गरी दुलहाको कञ्चटमा घिउको हेर तथा फुलमालाले  बिदाई गर्दछ सम्पूर्ण जन्तिलाई फुलमाला, टीका र  सगुन गरी दुलहाको बाबा समेत जन्तिमा प्रस्थान  गर्दछन ।  

जन्ति दुलहीको आँगनमा पुगेपछि माइती पक्षबाट सर्वप्रथम दुलहालाई अक्षता र जलले छर्काई जलले तीन पटक घुमेपछि  नव दुलहालाई  ससुरालाई हातमा समाती स्वयम्बर  स्थानमा राखिएको हुन्छ । शुभ साइतमा दुलहीलाई शृङ्गार गरी स्वयम्बर स्थानमा राखिन्छ र शुभ दिशा पारी स्वयम्बरको विधिअनुसार दुलहाले दुलहीलाई सिउँदोमा सिन्दुर राख्ने कार्य हुन्छ । त्यसपछि दोहोरो स्वयम्बर फुलमाला लगाउँछन र औठी साटासाट गर्छन ।

दुलहीलाई तिलहरी, मङ्गलसूत्र लगाइसकेपछि दुलहा दुलहीलाई विशेष मञ्चमा राखी दुलहीका आमाबाबा सहित घरपरिवारले आशीर्वाद दिन्छन अनि नातेदारहरुले साफा, टुटुम्ब, खादा तथा फलपूल दिन्छन ।
बिदाइको समयमा माइती पक्षबाट भोरे खास्टोमा  उवा, गँहू वा चामल मध्ये कुन एक थरी नौ माना  राखी डेढ फुटको सर (सिन्को) मा सेतो ध्वजा झुण्डाएको हुन्छ, यसलाई लम्ट भनिन्छ ।

त्यसलाई लक्षिनकी  बुहारी वा बुहारीको जिम्मेवारी बोझको नामबाट दुलहीको नजिकको  जेठानीलाई जिम्मा दिइन्छ ।  दुलहीको घरबाट  दुलहीको सिउदोमा र दुलहाको कञ्चटमा घिउको हेर लगाइ फुलमालाले बिदाई गर्छन ।

दुलाहको घर आगनमा आए पछि गृह प्रवेशमा स्वागत द्वारमा जल घडा राखिएको हुन्छ । गृह प्रवेश गर्दा चेलीहरुले केल्साङ सगुन गर्छन । फुलमाला, खादाबाट स्वागत गर्छन । मूल द्वारमा जल कलश र  दियो बलेको हुन्छ । गृह प्रवेशमा सर्वप्रथम माइतबाट लिएको जेठानीको साथमा लिइएको लम्ट दुलहीलाई बोकाइ दिन्छन ।  गृह प्रवेशमा सासुले नव दुलहीको हात समातेर गृह प्रवेश गराउछन ।  पूजा कोठामा निम बत्ति बलेको हुन्छ ।

नव दुलहीलाई दीप प्रज्वलन गर्न लगाई आफुले बाकी लिएको लम्टको अन्नलाई ती कचौरामा चुली बनाई जल चढाउने ठाँउमा चढाइ सके पछि खिमी च्हुजी पछि ढोग गर्नु पर्दछ । जेठानीसँग आपूmले बोकी लिएको लम्ट भित्र भण्डारमा रहेको यङ्कु चुवम्रम ( कुलायन देवता ) राख्ने मदुसमा तीन दिनसम्म राखिन्छ  । ध्वजा त्यही राखी अन्नलाई आफुसँग भएको अन्नसँग मिसाउने गर्दछन । यसलाई सहको रुपमा लिइन्छ ।

गृह प्रवेश र लम्टको काम सकेपछि नव दुलहा र दुलहीलाई टीका र आशिर्वाद दिन मञ्चमा राखिन्छ । सर्व प्रथम दुलहाका बाबाआमा र घरपरिवारले त्यसपछि सबै नातेदारहरुले फेटा, कुटुम्ब र खादा तथा फुल टीकाले  नव दम्पत्तीलाई आशिर्वाद  दिइन्छ र भोजको शुरु गरिन्छ । रमाइलोका  लागि नाचगान गरिन्छ ।

ग. क्हर सजी (माइती घेटघाट)
थकाली जातिमा विवाह सम्पन्न भएको तीन दिनमा क्हर सजीगर्ने माइती ढोगभेट गर्ने चलन छ । मुलघर अथवा आमा बाबा र एकाघरबाट छुट्टिएको बुबाहरुलाई क्रमश  अक्षता र फूलहरु राखी आम बाबालाई १०१ नगद दाम राखी ढोग गरी भेट गर्ने चलन छ । अरु नाता हेरी क्रमश दाम राखी ढोग गरिन्छ ।

जसलाई दाम राखी ढोग गर्नु पर्ने हो उसको घरमा रोटी रक्सी  र फलफुल पनि राख्नु पर्दछ ।  दाम राखी ढोग भेट गरी सकेपछि दुलही फर्कने समयमा जति दाम राखिएको छ  त्यसमा अलिकति रुपिया थपि दुलहीको हातमा फिर्ता गर्ने चलन छ । दुलहीको आमा बाबाले आफ्ना क्ह्यू (कुल) भित्रका सम्पूर्ण नातेदार, मावली र आमा पट्टिका नजिकका नातेदारहरुलाई एक ठेकी रक्सी वा एक बोतल  जुस वा फलफुल राखी ढोग भेट गर्न जानु पर्ने हुन्छ । यसको उद्देश्य दुलाहलाई दुलहीको माइती दाजु–भाइ, आमाचिमे, मावली र आफन्तहरूमा ज्वाइँ चिनाउनु हो । यसरी थकालीहरूको विवाह सम्पन्न हुन्छ । 

७. मृत्यु संस्कार
थकाली समुदायको महत्वपूर्ण संस्कारमध्ये मृत्यु संस्कार पनि एक हो । यो संस्कार विशेषगरी मृत्यु भएको सातौँ र नवौँ दिनमा लामा, ट्होम  (झाक्रि) विधिबाट सम्पन्न गरिन्छ । दोमासे वा पञ्चक परेमा पाचौँ दिनमा पनि सम्पन्न गर्ने गरिन्छ । थकालीहरू मृत्यु भएमा मृतकका दाजुभाइ, आफन्त, नातेदारलाई मृतकका मूल ज्वाइँले मृत्यु भएको खबर सुनाउने काम गर्दछन् । त्यसैले यो संस्कारमा ज्वाइँको भूमिका महत्वपूर्ण हुन्छ ।

मृतकको आत्माको चिरशान्तिको कामना गर्नको लागि १ सय ८बत्ती (छ्योमे) बालिन्छ । बाँसको सोला बनाई मृतकको शरीरलाई त्यसभित्र राखी सोलालाई विभिन्न रंगिन कपडाले सजाई धानको लाभा, विभिन्न फूलका माला र खादा लगाउने गरिन्छ । त्यसपछि मृतकलाई दाहसंस्कारका लागि घाटमा लगी छोराले कपाल मुण्डन गरी दागबत्ती बाली अन्तिम विदाई गर्दछन् । त्यस पछि मलामीहरु मृतकको घरमा गई चिया तथा खाजा खाने चलन रहेको छ ।

किरिया बस्ने छोराले सेता चप्पल, सेतो जागे, सोतो भेष्ट वा टिसर्ट र सेतो फेटा लगाएर कम्मल वा गलैचामा बस्ने र आफनो दाजुभाइ बाहेक अरुसँग नछोइकन बस्ने चलन छ । मृतकको अस्तु ( सानो हाड) लाई टोहम् विधिबाट मृत्यु भएको दिनदेखि तेस्रो दिनमा र लामा विधिमा चौथो दिनमा स्याक्सोम (मेहन्दो स्थापना) गरिन्छ । स्याम्सोम् दिन मृतकको म्हेन्दो (अस्तु) लाई शुद्ध जल र फूलले शुद्ध गरेर मूल ज्वाइँले म्हेन्दोलाई घर भित्राउँछन् ।

घरमा छोरीचेलीहरू केल्साङ गरी रूने गर्दछन् । उक्त म्हेन्दो पुरूषको भएमा पुरूषको र महिलाको भएमा महिलाको राम्रा कपडा, गहना विशेष गरी मृतक महिला भएमा कण्ठी, हफेल फूलमाला लगाउने गरिन्छ । धुपीमा सजाएर, पाथीमा म्हेन्दो स्थापना गरी छाप्रीमा फलफूल, सेलरोटी, झिनिया, चाँदीको फुर्कपमा चिया, दूध, रक्सी राखी म्हेन्दोलाई चढाउने गरिन्छ । धुप तथा अंकुमा अखण्ड बत्तीबाली विधिपूर्वक स्याम्सोम गर्ने गरिन्छ ।

तीन दिनमा स्याम्सोम गरेपछि सङ्सलो (भेटने ) चलन छ । सङसलोको लागि जाजुर्भा, चेलीबेटी तथा अन्य इष्टमित्रले फलफुल, रक्सी र जुसले भेटने गरिन्छ भने उक्त भेटी जसले ल्याएको हो उसको नाम उच्चारण गरी पितृलाई चढाइन्छ ।
यो दिनमा दाजुभाइहरूले १०८ बत्ती बाली दाजुभाइ, माइतीहरू, छोरीज्वाइँहरूलाई खाना खुवाउने गर्दछन् । घ्यम्पामा म्हेन्दो स्थापना गरिसकेपछि प्रत्येक दिनको बिहान र बेलुकी से खाना सेङोन्जी गरिन्छ । अन्य दिनहरूमा आफन्तहरूले चढाउन ल्याएका फलफूल, रक्सी, रोटी विभिन्न परिकारलाई म्हेन्दो चढाइएको खाद्यवस्तु र परिकारहरू थोरै थोरै अंश लिई धुपौरोको अग्निज्वालामा हालेर धुप मृत आत्मालाई चढाइन्छ ।

सातौँ दिनमा म्हन्तुङको क्हेम्चे १०८ बत्ती र एक नाङ्लो छो, मूलघरबाट विदाईको क्हेम्चे बत्ती बाली म्हेन्दोलाई विसर्जन गरी सम्पूर्ण दाजुभाइ तथा आफन्तहरूको उपस्थितिमा म्हेन्दो बोकी खोलाको तीर घाटमा लगी सेलाइन्छ । टोहम् विधिबाट तीन दिनमा स्याक्सोम् र सातौँ दिनमा म्हाङराजी ( सियो मार्ने) वा लामा विधिबाट चाङपर्जी गरी मृत्युसंस्कार सम्पन्न गरिन्छ ।

यदि किरिया गर्नु पर्ने छोरा घरमा नभएकाले दिन थप गर्नु पर्ने भए स्थानीय क्षत्रीय समितिमा जानकारीगराउने  र क्षत्रीय समितिलको सिफारिसमा केन्द्रीइ समितिले १२ दिन सम्म मृत्यु दिन थप गर्न सक्ने परम्परा छ । किरिया बसेको छोराले नुन र मासु खानु हुदैन ।

मृत्यु संस्कार सम्पन्न गर्दा मृतकको विवाहित जेठी छोरी र ज्वाइँको आवश्यकता पर्दछ । उनीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्दछ । जेठी छोरीले सम्पूर्ण व्यवस्थापकीय कामको नेतृत्व लिएकी हुन्छे भने ज्वाइँले पुरेत काम गर्नु पर्दछ । मृत्यु संस्कारको अन्त्यमा जेठी छोरी ज्वाइँले मातुङ (सपरान) र क्होइला (कपडा सहित दक्षिणा) पाउँछन् ।

यदि अन्तर्जातीय विवाह र खिमी नबसालेको विवाह भएमा छोरीले मातुङ र क्होइला पाउँदैनन् । अन्तिम दिनमा घरका परिवार, दाजुभाइ, बुहारीहरू चोखो हुनका लागि तातो दर्शनढुङ्गामा जल छर्की, वाफ लिई, हातमा भेडाको रौँको डोरी बाँधी किरिया शुद्धि गर्ने चलन छ ।

खरानी थापी टोहम्बाट म्होलो सेजी जोखना हेरी मृतकको घर दाजुभाइहरूलाई शुभ–अशुभ कार्य हुने वा नहुने बारे भविष्यवाणी गरिन्छ । पितृ देवताको रुपमा किरिया शुद्धि पछि सानो (हड्डी) अस्तु जेठो ज्वाइँले मुस्ताङ जिल्लाको थाकमा रहेको अस्तु धातु सङ््कलन केन्द्र (खिमी घर) मा चढाइन्छ ।

८. प्रमुख चाड तोरन्ल
थकाली जातिहरूको सबैभन्दा प्रमुख चाड तोरन्ल (फागु पूर्णिमा) हो ।  तोरन्ल (फागु पूर्णिमा) ३ दिन घरमा भव्य रूपमा मनाउने परम्परा रहेको छ । मूलतः थकाली समुदाय पितृपूजक रहेको छ । यो आफैमा महत्वपूर्ण पक्ष हो ।

यो चाड पितृपूजा, आराधना र उपासनामा आधारित पारिवारिक एवम् सामाजिक खुशीयाली महोत्सव हो । यसमा राम्रो लाउने, मीठो खाने, तारा खेल्ने, गाउने, नाच्नेदेखि दिदी, बहिनी, ज्वाइँ चेली निम्ताएर मीठा मीठा परिकार खुवाउने प्रचलनले परिवार परिवार वीच न्यानो माया ममता जागृत गराई सामाजिक सद्भाव, मेलमिलाप र एकता दरिलो र कसिलो पार्न यो चाड अत्यन्त प्रभावकारी सिद्ध भएको छ ।

त्यसरी नै तारा खेल तोरन्ल संस्कृतिको एउटा अभिन्न अंगको रूपमा स्थापित भएको छ ।  धनुषवाण तीर हान्ने वा ताराखेल थकालीहरूको लोकप्रिय राष्ट्रिय मौलिक खेल हो । यो खेल विशेष गरी तोरन्ल वा थकालीहरूको महान चाड फागु पूर्णिमामा खेल्ने गरिन्छ । थकालीहरुको अर्काे विशेष खेल कौडा खेल पनि हो । या खेल विशेत महिलाहरुमा प्रचलित छ  ।

गलकोट नगरपालिकाको हरिचौर, ठाढोओढार, काडेबास, थालेपोखरा, पाण्डवखानी, रमुवा र रिघामा बसोवास गर्ने थकालीहरु यातायात र सञ्चारको पँहूचसगै थकाली समुदायको जातीय पहिचान, रीतिस्थिति, संस्कार, भेषभूषसांस्कृतिक अनुपमता र कलात्मक निधिको संरक्षण र सम्बद्धन गर्नका लागि थकाली सेवा समिति नेपालमा आबद्ध भएका छन ।

थकाली सेवा समितिले जनसंख्या, साधारण  सदस्य संख्या, ऐतिहासिक र सांस्कृतिक महत्वका आधारमा देश भित्र १९ क्षेत्रीय तह विभाजन गरी गलकोटलाई पनि जनसंख्याका दृष्टिले एउटा क्षेत्रको मान्यता दिएको छ भने थकाली सेवा समिति नेपालको विधान २०७५ ले केन्द्रीय कार्य समितिका लागि  १ जना, महासभामा २ जना र केन्द्रयि सभामा १ जना सदस्य सुनिश्चित गरेको छ ।स्थानीय थकाली समुदायको जन्म, मृत्यु र विवाह सम्बन्धी संस्कारलाई गलकोट नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।

केही थकालीहरु बसाई सराइ गरी गलकोट बाहिर गएपनि पछिल्लो समयमा थकाली सेवा समिति गलकोट क्षत्रीय समितिमार्फत आफ्नो मौलिक पहिचान, थकाली हित र  राष्ट्रिय हितलाई समन्वयात्मक रुपमा अघि बढेका छन ।


सन्दर्भ सूचि
१. विजय सागरः थकाली जातिको सङिक्षप्त अध्ययन  Social Science Study Forum (०२ माघ २०७५) 
२. पूर्ण प्रसाद तुलाचनः चार इष्ट देवी देवताको गाथा तथा मेरो संकल्पः प्र्ण प्रसाद शैक्षिक अक्षय कोष (२०७३) 
३. थकाली सेवा समिति नेपालको विधान २०७५ (वि.सं.)
४. बेल बहादुर गौचन, केन्द्रीय सदस्य थकाली सेवा समिति नेपाल
५. भिमबहादुर शेरचन, क्षेत्रीय अध्यक्ष थकाली सेवा समिति गलकोट
६. गणेश शेरचन, क्षेत्रीय कोषाध्यक्ष थकाली सेवा समिति गलकोट
७. बुद्धि शेरचन, क्षेत्रीय सदस्य थकाली सेवा समिति गलकोट  

 

प्रतिकृया दिनुहोस

समृद्ध गलकोटका लागि रेडियो गलकोट

समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । “गलकोट” भन्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, गण्डकी प्रदेश अन्तर्गत

शैक्षिक ज्ञान महायज्ञः इतिहासले सुम्पिएको जिम्मेवारी

गण्डकी प्रदेश, बागलुङ जिल्लाको मध्य पश्चिम गलकोट क्षेत्र र यसको आसपासको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पस वि.सं. २०६१ मा स्थापना भएको सामुदायिक

गलकोट बहुमुखी क्याम्पस र शैक्षिक ज्ञान महायज्ञ